काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थान आसपास रहेकाले मौसममा बदली र वर्षाको गतिविधि देखिएको हो।
बिहान कोशी प्रदेशमा अधिकांश क्षेत्रमा आकाशमा बादल लागेको छ भने अन्य प्रदेशका धेरैजसो भू–भागमा आंशिक बदली रहेको छ। कोशीका केही स्थानसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी र बागमतीका पहाडी क्षेत्रका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
तराई क्षेत्र पनि वर्षाबाट प्रभावित हुन सक्ने देखिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा तथा मधेश र कोशीका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भाग, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र र लुम्बिनीका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
त्यसैगरी, रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा वा हिमपात हुन सक्नेछ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थान तथा मधेश र सुदूरपश्चिमका तराई भू–भागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।