काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक सामग्री पुर्याउने कामलाई तीव्रता दिइएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री साहले विपत्तिको सामना गर्न सरकारी संयन्त्रसँगै देशभित्र तथा विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटिरहेको जानकारी दिएका हुन् ।
उनका अनुसार उद्धारका लागि बिहान ६ः३० बजेदेखि हवाई सेवा सञ्चालन गरिएकोमा हालसम्म १५ भन्दा बढी उडान भइसकेका छन् । थप हेलिकोप्टरलाई पनि आवश्यक परे तत्काल परिचालन गर्न तयारी अवस्थामा राखिएको उनले बताएका छन् ।
नेपाली सेनाको उद्धार टोलीले रसुवाको टिमुरेबाट ११६ जनालाई सुरक्षित स्थानमा ल्याएको प्रधानमन्त्री साहले जानकारी दिए । उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेको उनले उल्लेख गरेका छन् । यसै क्रममा टनेलभित्र फसेका ७ जना नेपाली नागरिकको समेत उद्धार गरिएको जनाइएको छ ।
विपद् प्रभावित क्षेत्रमा सञ्चार तथा स्वास्थ्य सेवासहित अत्यावश्यक सुविधा पुर्याउने कामसमेत अघि बढाइएको छ । प्रभावित स्थानमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम र ढुंगा काट्ने उपकरण पठाइरहेको प्रधानमन्त्री साहले बताएका छन् । अस्थायी रूपमा मोबाइल नेटवर्क र फोन चार्ज गर्ने सुविधा उपलब्ध गराउने तयारी भइरहेको उनको भनाइ छ ।
नुवाकोटमा प्रभावितका लागि अस्थायी शिविर स्थापना गरी खानेपानी र भोजनको व्यवस्था गरिएको छ । त्यस्तै, बाढी तथा पहिरो प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न ड्रोनबाट निगरानी गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको जनाइएको छ ।
उद्धार कार्यमा सिकिस्त बिरामी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई प्राथमिकतामा राखिने बताइएको छ । प्रधानमन्त्री साहले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई धैर्य र संयम अपनाउन आग्रह गर्दै राज्यका सबै संयन्त्र उद्धार तथा राहतमा सक्रिय रहेको बताएका छन् ।