काठमाडौँ । बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार र शव पहिचानका लागि नेपालले विभिन्न मित्रराष्ट्रबाट प्राविधिक सहयोग प्राप्त गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार टनेल उद्धारदेखि डीएनए तथा फरेन्सिक परीक्षणसम्मका लागि विदेशी विज्ञ र विशेषज्ञ टोली नेपालमा परिचालित भएका छन्।
मंगलबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोग जुटिरहेको जानकारी दिए।
भारतबाट आएको २४ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग सहकार्य गर्दै चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा खटिएको छ। यस्तै, चीनबाट आएको ९ सदस्यीय विशेषज्ञ टोलीलाई माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
कोरियाबाट समेत उद्धार टोली नेपाल आइपुगेको प्रवक्ता पौडेलले जानकारी दिए। विपद् प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन विदेशी विशेषज्ञ टोलीको प्राविधिक अनुभव उपयोग भइरहेको मन्त्रालयको भनाइ छ।
शव पहिचानतर्फ पनि अन्तर्राष्ट्रिय सहयोग प्राप्त भएको छ। भारतबाट १९ सदस्यीय डीएनए विश्लेषण विज्ञ टोली गत अगस्ट २९ देखि नेपालमा कार्यरत रहेको पौडेलले बताए। चीनबाट चार सदस्यीय फरेन्सिक विज्ञ टोली ल्याउने प्रक्रिया अघि बढाइएको छ भने सिंगापुरबाट विपद् पीडितको पहिचानमा विशेषज्ञता हासिल गरेको टोली ल्याउन आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए।
तत्काल सनाखत हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखिएको मन्त्रालयले जनाएको छ। आवश्यक प्रमाण तथा नमुना संरक्षण गरेपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार ती शवलाई अस्थायी रूपमा व्यवस्थापन गरिएको बताइएको छ।
यसैबीच, बाढी तथा विपद्बाट भएको समग्र क्षतिको मूल्याङ्कन गरी ‘विपद्पछिको आवश्यकता मूल्याङ्कन’ तयार गर्ने तयारी पनि भइरहेको छ। प्रवक्ता पौडेलका अनुसार उक्त मूल्याङ्कनबाट पहिचान हुने आवश्यकता र क्षतिको आधारमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आह्वान गरिनेछ।
मन्त्रालयले तत्कालीन उद्धार र राहतसँगै आगामी चरणमा आवश्यक पर्ने प्राविधिक तथा आर्थिक सहयोग जुटाउन कूटनीतिक माध्यमबाट सम्बन्धित मुलुक तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय जारी राखेको जनाएको छ।