२०८३, आश्विन २ गते

Sep 18 2026

चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप

चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप

मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौं । गत वर्षहरूमा घटस्थापनादेखि मात्रै उपत्यकाबाट बाहिरिने यात्रुको चाप हुने गरेकामा यस वर्ष भने घटस्थापनाभन्दा अघिदेखि नै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेका हुन् । चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप अहिलेदेखि नै बढ्न थालेको छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमै करिब चार लाख यात्रुले उपत्यका छाडेको जानकारी दिए । यात्रुको चाप बढेसँगै सेवाप्रदायक व्यवसायी पूर्णरूपमा तयार रहेको उनले बताए।

    त्यस्तै महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अहिलेको विषम परिस्थिति सम्झँदै पनि भाडा वृद्धि नगरी सेवा प्रवाहमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार अग्रिम टिकट प्रणालीभन्दा पनि सवारी साधनको उपलब्धताका आधारमा टिकट काटिने व्यवस्था मिलाइएको छ ।

    यसैबिच यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी यात्रुहरूको सुरक्षित र सहज आवागमनका लागि आवश्यक तयारी गरिएको जनाएको छ । मंगलबार विभागमा यातायात व्यवसायी र सरोकारवाला निकायसँगको छलफलमा महानिर्देशक राजीव पोखरेलले सडक क्षेत्रमा सुशासन कायम गर्न र अवरोध हुन नदिन सडक विभागसँगको सहकार्यमा ठाउँ–ठाउँमा डोजर लगायतको व्यवस्था गरिने जानकारी दिए । उनले भाडादर पारदर्शी बनाउनका लागि यात्रु सहायता कक्ष र भाडा दरका बोर्ड विभिन्न स्थानमा राखिने जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij