काठमाडौं । देशमा अहिले मनसुनी गतिविधि सक्रिय रहेकाले आज अधिकांश भू–भागमा मौसम बदली रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तर र पूर्वी क्षेत्रमा औसत आसपासमा रहेको छ।
दिउँसो देशभर आकाशमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी भू–भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही ठाउँ तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुनसक्ने अनुमान छ। लुम्बिनीको तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।
विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भू–भागमा भारी वर्षा हुनसक्ने जनाएको छ। सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना छ।
राति पनि देशभर मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको छ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा छिटफुट वर्षाको सम्भावना छ भने मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुनसक्नेछ।
रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।
भारी वर्षा हुने सम्भावित क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी पछिल्ला सूचना हेर्न विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।