काठमाडौं । काठमाडौं उपत्यकामा रातको समयमा सार्वजनिक यातायातको पहुँच बढाउने उद्देश्यले अन्तरनगर रात्रिकालीन यातायात सञ्जाल विस्तार गर्ने तयारी गरिएको छ । यसका लागि उपत्यकाका विभिन्न स्थानीय तहलाई सहभागी गराएर व्यवस्थित र दीर्घकालीन यातायात प्रणाली विकास गर्ने योजना अघि सारिएको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताएकी छन् । महानगरपालिकाले साझा यातायातसँग सहकार्य गरेर सञ्चालन गरेको सेवाको प्रभावकारिता अध्ययनपछि तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो जानकारी दिएकी हुन् ।
महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तीन महिनाको परीक्षण अवधिको सेवा, यात्रुको चाप, सञ्चालन खर्च तथा सम्भावित विस्तारबारे अध्ययन गरेको थियो ।
तीन महिनामै ६६ हजारभन्दा बढी यात्रु
वैशाखदेखि असारसम्म सञ्चालन भएको परीक्षणकालीन सेवामा ६६ हजार ९५२ यात्रुले रात्रिकालीन बस प्रयोग गरेका छन् । अध्ययनअनुसार एउटा बसले दैनिक औसत १४२ यात्रु बोक्ने गरेको छ ।
यात्रुबाट प्रतिबस दैनिक औसत ३ हजार १३४ रुपैयाँ आम्दानी भए पनि सञ्चालन खर्च भने ४ हजार ८१४ रुपैयाँ पुग्ने गरेको छ । यस हिसाबले एउटा बस सञ्चालन गर्दा दैनिक औसत १ हजार ६९० रुपैयाँ घाटा हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
राति ८ देखि ९ बजेको समयमा यात्रुको चाप सबैभन्दा बढी देखिएको छ । कार्यालयबाट ढिलो घर फर्किने कर्मचारी, श्रमिक तथा दैनिक ज्यालादारीमा संलग्न कामदार यस समयमा बढी बस चढ्ने गरेको अध्ययनले देखाएको छ ।
थानकोट–एयरपोर्टमा बढी यात्रु
हाल सञ्चालनमा रहेका दुई रुटमध्ये थानकोट–एयरपोर्ट खण्डमा यात्रुको हिस्सा ५१.५५ प्रतिशत रहेको छ । बुढानीलकण्ठ–लगनखेल रुटमा भने ४८.४५ प्रतिशत यात्रु रहेको अध्ययनले देखाएको छ ।
रात्रिकालीन बस प्रयोग गर्ने यात्रुमध्ये करिब ४७ प्रतिशतले पाँच किलोमिटरभन्दा कम दूरीको यात्रा गर्ने गरेका छन् । ३२ प्रतिशत यात्रुले मध्यम दूरी र २१ प्रतिशतले लामो दूरीका लागि सेवा प्रयोग गर्ने गरेका छन् ।
हाल दूरीअनुसार २०, २५ र ३० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
सातबाट २८ बस पुर्याउने प्रस्ताव
हाल सातवटा विद्युतीय बसबाट दुई रुटमा सञ्चालन भइरहेको रात्रिकालीन सेवालाई विस्तार गरी २८ वटा बस पुर्याउन कार्यदलले सुझाव दिएको छ ।
प्रस्तावित रुटमा गोदावरी–बुढानीलकण्ठ, रिङरोडमा दुवैतर्फ चल्ने सेवा, जगाती–ठमेल तथा कीर्तिपुर–नेपाल वायुसेवा निगम क्षेत्र समेटिएका छन् । नयाँ रुटले अस्पताल, व्यापारिक क्षेत्र र उपत्यकाका प्रमुख प्रवेश तथा निकास बिन्दुलाई जोड्ने लक्ष्य राखिएको छ ।
घाटा व्यवस्थापनका तीन विकल्प
रात्रिकालीन सार्वजनिक यातायातलाई आर्थिक रूपमा टिकाउ बनाउन प्रतिवेदनले तीनवटा विकल्प अघि सारेको छ ।
पहिलो विकल्पमा रातको समयमा चालक तथा कर्मचारीको अतिरिक्त खर्चलगायतका कारण हालको भाडामा १२ रुपैयाँ थप गरी छुट्टै ‘नाइट प्रिमियम’ लागू गर्न सुझाव दिइएको छ ।
दोस्रो विकल्पमा सेवा सञ्चालनबाट हुने घाटाको आधा रकम आठ स्थानीय तहले समान रूपमा बेहोर्ने र बाँकी रकम सम्बन्धित नगरपालिकाको क्षेत्रफल, जनसंख्या तथा बस सञ्चालन हुने दूरीका आधारमा बाँड्ने प्रस्ताव गरिएको छ ।
तेस्रो विकल्पमा प्रविधिको प्रयोगमार्फत यात्रुलाई बसको वास्तविक स्थान र समयतालिका उपलब्ध गराउने, सेवा प्रवर्द्धन गर्ने तथा यात्रुको विश्वास बढाउने कार्यक्रममार्फत थप आम्दानीका स्रोत खोज्न सुझाव दिइएको छ ।
सुरक्षालाई प्राथमिकता
रातिको सार्वजनिक यातायातमा महिला, ज्येष्ठ नागरिक र विदेशी पर्यटकको सुरक्षा सुनिश्चित गर्न विशेष व्यवस्था आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ ।
बसमा सीसीटीभी, जीपीएस प्रणाली तथा निश्चित बस बिसौनीको व्यवस्था गर्न सुझाव दिइएको छ । यसले रातको समयमा यात्रुको सुरक्षा बढाउनुका साथै सेवाप्रतिको भरोसा कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आठ स्थानीय तहको सहकार्यमा विस्तार
रात्रिकालीन यातायात विस्तारमा काठमाडौं, ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकालाई सहभागी गराउने प्रस्ताव गरिएको छ ।
स्थानीय तहबीच समन्वय गरी सेवा विस्तार गर्न सके रातको समयमा आर्थिक गतिविधि बढ्ने, सार्वजनिक यातायातमा पहुँच विस्तार हुने र निजी सवारीसाधनप्रतिको निर्भरता घट्ने प्रतिवेदनको निष्कर्ष छ ।
संघीय राजधानीको सार्वजनिक यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’मार्फत नियमन, समन्वय र सुशासन कायम गर्न सकिने विकल्पसमेत प्रतिवेदनमा अघि सारिएको छ ।
यससँगै प्रारम्भिक चरणमा सातवटा विद्युतीय बस र दुई रुटमा सीमित रहेको रात्रिकालीन सेवा अब उपत्यकाका आठ नगरपालिकालाई समेट्ने गरी विस्तार गर्ने तयारी अघि बढेको छ ।