काठमाडौं । बजारमा देखिएको एलपी ग्यासको अभाव हटाउँदै आपूर्ति तथा वितरण प्रणालीलाई सहज बनाउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास व्यवसायीसँग छलफल गर्ने भएका छन्।
मन्त्री साहले शुक्रबार साँझ ५ बजे ग्यास उद्योगी तथा सम्बन्धित व्यवसायीहरूलाई मन्त्रालयमा बोलाएर पछिल्लो आपूर्ति अवस्थाबारे छलफल गर्न लागेका हुन्। केही समययता ग्यास पाउन उपभोक्ताले लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था देखिनुका साथै कतिपय ठाउँमा कालोबजारीसम्बन्धी गुनासोसमेत बढेपछि मन्त्रालयले यस विषयमा चासो देखाएको हो।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार छलफलमा बजारमा देखिएको अभावको कारण, वितरणमा देखिएका समस्या र उपभोक्तालाई नियमित रूपमा ग्यास उपलब्ध गराउने उपायबारे छलफल हुनेछ।
बजारमा ग्यासको आपूर्ति र बिक्री व्यवस्थालाई व्यवस्थित गर्न सुरक्षा निकाय तथा वाणिज्य विभागको संयुक्त टोलीले अनुगमन गरिरहेको छ। तर अनुगमनसँगै वितरण प्रणालीमा देखिएका व्यावहारिक समस्या समाधान गर्न थप पहल आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।
बैठकमा तत्काल बजारमा ग्यासको आपूर्ति बढाउने, वितरणलाई व्यवस्थित बनाउने तथा उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण निर्माण गर्ने विषयमा आवश्यक निर्णयका लागि छलफल हुने बताइएको छ।