काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ठूलो परिमाणमा ग्यास सिलिन्डर नियन्त्रणमा लिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा राखेर लैजान लागिएको अवस्थामा ७०५ थान ग्यास सिलिन्डर बरामद गरेको हो।
ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारामा जय श्री बालाजी ग्यास स्टोर सञ्चालन गर्दै आएका ३८ वर्षीय दिनेश लुइँटेललाई पक्राउ गरेको छ। मोरङको ग्रामथान गाउँपालिका–२ स्थायी घर भएका लुइँटेलले बजारमा अभावको अवस्था सिर्जना गरी ग्यास महँगो मूल्यमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार लुइँटेलले एउटा भरिएको ग्यास सिलिन्डरका लागि उपभोक्तासँग २ हजार ७५० रुपैयाँसम्म लिने गरेका थिए।
प्रहरीले बरामद गरेका सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका रहेको जनाएको छ। त्यस्तै, नयाँ सिलिन्डरसमेत लुइँटेलले प्रतिगोटा ५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको एसपी कार्कीले जानकारी दिए।
ग्यासको अस्वाभाविक मूल्य असुली तथा कालोबजारीसम्बन्धी घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।