काठमाडौं । त्रिशूली नदीको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडकखण्ड मर्मत सुरु भएको १० दिनमै पुनः सञ्चालनमा आएको छ।
गत भदौ १४ गते आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभिरमा सडक भासिएको थियो। सडकलाई तत्काल सञ्चालनमा ल्याउन भासिएको स्थानभन्दा केही माथिको पहाडतर्फ भित्तो काटेर वैकल्पिक ट्र्याक निर्माण गरिएको हो।
नयाँ ट्र्याक तयार भएपछि आजदेखि उक्त खण्डबाट सवारी आवागमन सुरु गरिएको छ। पहिलो चरणमा ग्यास बुलेट तथा मालवाहक ट्रकलाई मात्रै नयाँ ट्र्याकबाट सञ्चालन गर्न दिइएको छ।
ग्यास बुलेटहरू नयाँ ट्र्याक हुँदै अघि बढाउने क्रममा सुरक्षाका लागि नेपाली सेनाको टोलीसमेत कृष्णभिर पुगेको थियो। धादिङकी प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित अधिकारीहरूले पनि आजै घटनास्थल पुगेर सडकको अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन्।
सडक पूर्णरूपमा सुरक्षित र व्यवस्थित नहुँदासम्म तत्कालका लागि सीमित प्रकारका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिने व्यवस्था गरिएको बताइएको छ।