काभ्रेको पनौती नगरपालिका लगायत आसपासका क्षेत्रहरूमा बर्खा सुरु नहुँदै बाढीको जोखिम बढ्दै गएको छ। सामान्य वर्षा हुँदा समेत पानी निकासको उचित व्यवस्था नहुँदा सहर र गाउँका बस्तीहरूमा पानी पस्न थालेको स्थानीयहरूले गुनासो गरेका छन्।
स्थानीयका अनुसार खोला तथा नालाहरू अत्यन्त साँघुरा हुनुका साथै समयमै सरसफाइ र व्यवस्थापन नहुँदा पानी बग्ने मार्ग अवरुद्ध भएको छ। जसका कारण पानी सिधै बस्तीभित्र पसेर घरधुरी, खेतीयोग्य जमिन र दैनिक जनजीवन प्रभावित बनाइरहेको छ।
यस्तै, सडकहरूको अवस्था पनि अत्यन्त दयनीय बनेको छ। हल्का वर्षामै सडक हिलाम्मे भई सवारी आवागमन अवरुद्ध हुने समस्या देखिएको छ। विशेषगरी तल्लो भेगका बस्तीहरू बढी जोखिममा परेका छन्, जहाँ पानी जम्ने र निकास नहुने समस्या झनै गम्भीर बन्दै गएको छ।
स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराए पनि दीर्घकालीन समाधानतर्फ ठोस कदम नचालिएको गुनासो गरेका छन्। उनीहरूले खोला फराकिलो बनाउने, नाला व्यवस्थापन गर्ने र सडक सुधारमा तत्काल ध्यान दिन माग गरेका छन्।
यदि समयमै प्रभावकारी कदम नचालिएमा बर्खा सुरु भएपछि ठूलो क्षति हुन सक्ने भन्दै स्थानीयहरू त्रसित बनेका छन्। अहिलेको अवस्था हेर्दा प्राकृतिक विपत्तिभन्दा पनि अव्यवस्थित पूर्वाधार र लापरवाही मुख्य कारण बन्दै गएको देखिन्छ।