२०८३, आश्विन २ गते

Sep 18 2026

राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

रोज नेपाल
आइतवार, बैशाख २० २०८३
रोज नेपाल
आइतवार, बैशाख २० २०८३
  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले मुलुकमा देखिएको राजनीतिक स्थिरता र तीव्र गतिमा अघि बढिरहेको डिजिटल रूपान्तरणले आर्थिक समृद्धिको नयाँ आधार तयार पार्ने बताएका छन्।  काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको ‘इकोनोमिक सिम्पोजियम’मा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

    उनका अनुसार नेपाल अहिले एक महत्वपूर्ण संक्रमणकालीन चरणमा रहेको छ। करिब दुईतिहाइ बहुमतसहितको सरकार गठन भएसँगै जनस्तरमा आशा र सकारात्मक ऊर्जा बढेको उनले बताए। विगत ३६ वर्षको बहुदलीय व्यवस्थामा सरकार परिवर्तनको चक्र दोहोरिँदा विकासको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको उनको भनाइ थियो।

    मल्होत्राले वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गर्ने विश्वास व्यक्त गर्दै यसले नीतिगत स्थायित्व सुनिश्चित गर्ने बताए। “राजनीतिक स्थिरता नै आर्थिक वृद्धिको मूल आधार हो। यसले लगानीकर्ताको विश्वास बढाउँछ र दीर्घकालीन विकासका लागि वातावरण तयार गर्छ,” उनले उल्लेख गरे।

    उनले अबको नेपालको प्राथमिकता डिजिटल रूपान्तरणलाई तीव्र बनाउनु र फाइभजी प्रविधिको सुरुआत गर्नु हुनुपर्नेमा जोड दिए। डिजिटल पूर्वाधारलाई अब विलासिताभन्दा बढी अनिवार्य आवश्यकताको रूपमा लिनुपर्ने उनको धारणा थियो। यसले शिक्षा, स्वास्थ्य, ई–कमर्स र सुशासनका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने उनले बताए।

    डिजिटल पूर्वाधार सुदृढ हुँदा युवा उद्यमशीलतालाई पनि थप ऊर्जा मिल्ने र आधुनिक अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने मल्होत्राको विश्वास छ।

    कार्यक्रममा सहभागी भारतीय नीति–निर्माता अमिताभ कान्तको योगदानको प्रशंसा गर्दै उनले नेपाल–भारतबीचको आर्थिक र रणनीतिक सहकार्य अझ सुदृढ हुने अपेक्षा व्यक्त गरे। विशेष गरी पर्यटन, डिजिटल अर्थतन्त्र र सीमापार लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

    नेपाल र भारतबीचको भौगोलिक तथा सांस्कृतिक निकटतालाई सदुपयोग गर्दै संयुक्त पर्यटन सर्किट विकास गर्न सके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने र यसले राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने उनको भनाइ थियो।

    बाह्रखरी मिडियाद्वारा आयोजना हुँदै आएको यस्तो कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न र पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि उनले उल्लेख गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij