काठमाडौँ / नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पदबाट औपचारिक रूपमा छुटेको घोषणा गरेका छन् ।
अध्यक्ष शेर्पाले सार्वजनिक गरेको विज्ञप्तिमार्फत अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल सकिएको जानकारी दिँदै संगठनात्मक नेतृत्वबाट बिदा लिएको प्रष्ट पारेका छन् ।
शेर्पाले पदबाट बाहिरने पनि सामाजिक दायित्व र परिवर्तनप्रतिको उत्तरदायित्व भने सँधै रहने बताएका छन् ।
विज्ञप्तिमा अध्यक्ष शेर्पाले नेविसंघको १२औँ महाधिवेशन सम्पन्न गर्ने प्रमुख जिम्मेवारी आफूलाई दिइएको भए पनि उक्त लक्ष्य पूरा गर्न नसक्नु आफ्नो जीवनमा गहिरो खड्किने विषय भएको बताएका छन् ।
अध्यक्षले आफ्नो कार्यकालमा भएका कमी कमजोरी र असफलताको सम्पूर्ण जिम्मेवारी व्यक्तिगत रूपमा स्वीकार गर्ने धारणा राख्दै कुनै बहाना वा अरू पक्षका साथी माथि दोष नलगाउने बताएका छन् ।