२०८३, आश्विन २ गते

Sep 18 2026

ट्रम्पको नौ वर्षपछि चीन भ्रमण, बेइजिङमा भव्य स्वागत

ट्रम्पको नौ वर्षपछि चीन भ्रमण, बेइजिङमा भव्य स्वागत

रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
  • एजेन्सी, विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीच उच्चस्तरीय शिखर वार्ता हुने भएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार बेइजिङमा बहुप्रतीक्षित भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

    यस वार्तालाई अन्तर्राष्ट्रिय समुदायले व्यापार, प्रविधि र भूराजनीतिक सम्बन्धका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ ।

    चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार राष्ट्रपति ट्रम्प बुधबार साँझ तीन दिने राजकीय भ्रमणका लागि बेइजिङ पुगेका हुन ।

    यो उनको सन् २०१७ पछि पहिलो चीन भ्रमण हो । भ्रमणका क्रममा उनलाई ग्रेट हल अफ द पिपुल्समा राजकीय स्वागत, उच्चस्तरीय भेटघाट, चियापान तथा राजकीय भोजसहित विशेष सम्मान प्रदान गरिनेछ ।

    बेइजिङ भ्रमणअघि नै राष्ट्रपति ट्रम्पले अमेरिका–चीन व्यापार सम्बन्धलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिएका छन् ।

    उनले चीनलाई अमेरिकी व्यवसाय र प्रविधि कम्पनीहरूका लागि अझ खुला बनाउन आग्रह गर्दै राष्ट्रपति सी चिनफिङलाई “असाधारण दृष्टिका नेता” भन्दै प्रशंसा गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले चीनलाई अमेरिकी प्रविधि र प्रतिभाका लागि अझ खुला गर्नुपर्ने आवश्यकता औंल्याउँदै दुवै देशबीच सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे ।

    ट्रम्प प्रशासनले यो भ्रमणलाई केवल कूटनीतिक औपचारिकताका रूपमा नभई व्यापार, प्रविधि र रणनीतिक सम्बन्ध पुनः सन्तुलन गर्ने अवसरका रूपमा लिएको देखिन्छ ।

    सोही कारण अमेरिकी व्यापार तथा प्रविधि क्षेत्रका प्रमुख व्यवसायीहरू पनि भ्रमण टोलीमा सहभागी भएका छन् ।

    यता, चीनले पनि अमेरिका–चीन सम्बन्ध सुधारसँगै पश्चिम एसियामा देखिएको तनाव व्यवस्थापनमा भूमिका विस्तार गर्ने संकेत दिएको छ ।

    विशेषगरी अमेरिका–इरानबीचको तनाव अन्त्य गर्न कूटनीतिक प्रयास आवश्यक रहेको भन्दै चीनले क्षेत्रीय स्थिरताका लागि मध्यस्थता बढाउन चाहेको देखिएको छ ।

    यसै क्रममा चीनको विदेश मन्त्रालयले पाकिस्तानलाई समेत संवाद प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको बताइएको छ ।

    दुई नेताबीचको भेटमा व्यापार असन्तुलन, प्रविधि प्रतिस्पर्धा, कृत्रिम बौद्धिकता (एआई) को विकास र सुरक्षा, दुर्लभ खनिज निर्यात नियन्त्रण तथा भूराजनीतिक तनाव प्रमुख एजेन्डा हुने अपेक्षा गरिएको छ ।

    गत अक्टोबरमा दक्षिण कोरियामा भएको भेटपछि यो दोस्रो प्रत्यक्ष वार्ता हो, जसमा पहिले शुरु गरिएको व्यापार युद्धविरामलाई थप एक वर्ष लम्ब्याउने विषयमा पनि छलफल हुने बताइएको छ ।

    यसैबीच, इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानको लागत अत्यधिक बढ्दै गएको विवरण सार्वजनिक भएको छ ।

    पेन्टागनका अनुसार हालसम्म करिब २९ अर्ब अमेरिकी डलर खर्च भइसकेको भए पनि दीर्घकालीन लागत, पूर्वसैनिकहरूको स्वास्थ्य सेवा, सैन्य पुनर्निर्माण र नयाँ हतियार उत्पादन समेत जोड्दा यो खर्च १० खर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने विज्ञहरूको चेतावनी छ ।

    हार्वर्ड केनेडी स्कुलको अध्ययनले पनि युद्धको वास्तविक लागत सार्वजनिक तथ्याङ्कभन्दा धेरै गुणा बढी हुन सक्ने देखाएको छ ।

    युद्ध बजेट विशेषज्ञ लिन्डा बिल्मेसका अनुसार अहिले देखिएको खर्च केवल प्रारम्भिक अनुमान मात्र हो, आगामी वर्षहरूमा यसको आर्थिक भार अझै बढ्ने सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij